मातृभाषा
उद्घोषकले लामो समय खर्चिएर थुप्रैलाई आसन ग्रहण गराइन् । अघिसम्म लेखक र उद्घोषकमात्र रहेको मञ्च केही छिनमै खचाखच भएको थियो भने दर्शकदीर्घा निकै खुकुलो ।
“.....आ–आफ्नो भ्यालुएबल टाइम जुटाएर यस बुक लन्चिङ सेरेमोनीमा आउनुहुने सम्पूर्ण महानुभावमा फेरि एक पटक हर्टली वेलकम भन्दै आफ्नो छोटो स्वागत मन्तव्य यहीं पूरा गर्दछु । थान्क्स् अ लट !” झन्डै पन्ध्र मिनेटमा युवा साहित्यकारले भनाइ सके ।
“आई एम कन्फिडेन्ट द्याट द बुक विल बि वान् अफ द बेस्ट सेलर इन द कन्ट्री ! अ बिग कंग्राच्युलेशन अगेन !” भन्दै कृतिका समीक्षक प्रा.डा.ज्यूले लम्बेतान भाषण अन्त्य गरे ।
“....अति चिन्ताको विषय छ कि हाम्रो मातृभाषा तपाईं हामीले देख्दादेख्दै निकै नै साँघुरिइसकेको छ । यसलाई जगेर्ना गर्न र अन्य भाषाका नेगेटिभ इन्फ्ल्युअन्सबाट जोगाउन वी अल आर इक्वल्ली रिस्पन्सिबल । यसैका लागि यो पुस्तक एउटा सोलिड माइलस्टोन हुनेछ भन्ने मैले आशा लिएको छु ।“ लेखक महोदयले मन्तव्य राखे।
भित्ताको तुलपट्टी हेर्दै सभाध्यक्ष महोदयले केही पुँदा जोडे । “मातृभाषाको जगेर्ना नामको यो कृतिका लेखकले आगामी दिनहरूमा पनि यस क्षेत्रमा कलम चलाउनुहुने नै छ । उहाँलाई हर्टली कंग्राच्युलेशन !“
कार्यक्रम सम्पन्न भयो ।
काठमान्डूमा जागिर खाँदै गरेको छोरोलाई भेट्न हिजो गाउँबाट आएका मास्टरबाले पनि छोरासँगै कार्यक्रममा भाग लिने मौका पाएका थिए । नेपाली शिक्षक भएर तीस वर्ष गाउँकै विद्यालयमा बिताएका उनको मष्तिस्कमा थुप्रै प्रश्नहरू उब्जिएका थिए भने केही असन्तुष्टि पनि ।
“यस्तै तालले जगेर्ना हुन्छ मातृभाषाको ?“ आक्रोश व्यक्त गर्दै छोराको मोटरसाइकल पछाडि चढे मास्टर बा । घिच्रो तन्काई तन्काई बाटोभरि खै केके– केके भने छोरोलाई उनले डेरा नपुगुन्जेल ।
दुर्गाप्रसाद ग्वाल्टारेको बोधिचित्तको खेती भन्ने पुस्तकको मातृभाषा भन्ने लघुकथाबाट साभार ।
No comments:
Post a Comment