Translate

Tuesday, April 28, 2020

व्यवस्था

व्यवस्था

“व्यवस्था त सबै मैले नै बनाएको हो, तर पनि तिमीबाट सुन्न चाहन्छु कि मैले बनाएको यो व्यवस्थामा तिमीलाई सबभन्दा मन परेको कुरा के हो मनुष्य ?“ वर्षे छुट्टीमा घुम्दै पृथ्वीलोकको नेपाल राज्य आएका भगवान्ले एकजना हलो जोत्दै गरेको किसानलाई सोधे ।
किसानले हलोको फेदमा टेके । हलो अड्याए । कपाल कन्याए । आकाशतिर हेरे । त्यसपछि वरिपरि जमिनमा हेरेर भने, “अरू त त्यस्तै हो, तर एउटा कुराचाहिँ साँच्चिकै राम्रो गर्नुभएको छ भगवान् तपाईंले । ”
भगवान् जिज्ञासु भएर भने, “भन न मनुष्य भन ! म तिम्रो उत्तर सुन्न आतुर छु ।”
“यी हेर्नूस, यो मेरो खेत दुई कठ्ठा छ । अनि यससँगै जोडिएको ठूलेसाहुको कित्ता हेर्नुस् त पाँच बिघाको छ।” किसानले भने । अनि फेरि थपे, “यी हेर्नूस् त साँधका मुढ़काहरू, तिनै सत्तरी वर्षीय बूढा ठूलेसाहुले आज रातभरिमा एक हात सारेछन् मेरोतिर ।”
भगवान्ले किसानको कुरोको भेउ पाएनन् र फेरि सोधे, “अनि के भो त ?”
“हेर्नोस् । मरेर लैजान नपाउँदा त मानिस यत्तिविधि मरिहत्ते गर्छन् सम्पत्तिका लागि । यदि मर्दा पनि सँगै लैजान पाउने व्यवस्था भए यो संसारमा केके हुन्थ्यो होला ? ” किसानले उल्टै प्रश्न गरे ।
भगवान् यात्रा छोट्याएर सोचमग्न हुँदै बाटो लागे । 
दुर्गाप्रसाद ग्वाल्टारेको बोधिचित्तको खेती भन्ने पुस्तकको व्यवस्था भन्ने लघुकथाबाट साभार ।

No comments:

Post a Comment

Essays