उछित्तो
“हे राम ! कस्तो भो यो मुलुक ! यौटा जाबो खर्दारको सरुवा गराउन पनि प्रधानमन्त्रीको तोक आदेश चाहिने !” आफ्नै सूरमा फत्फताए पिए सा’ब । आगन्तुक कक्षमा बसेका सबैका आँखा उतै तानिए ।“तोक लगाउने प्रधानमन्त्री बेकुफ हो !”
“के गरून् तिनले ? झोले कार्यकर्ताहरूले हिर्किट्टी हालेपछि!”
“सुरुसुरु जथाभावी तोक(आदेशहरू मान्ने सरकारी उच्च(अधिकारीहरू नै दास भएर हो । त्यस्ता चिट्ठीहरू च्यातेर फाल्दिए फेरि हिम्मत गर्ने थिएनन् ।”
आआफ्ना तर्कहरू प्रस्तुत भए । सबैले मौजुदा अव्यवस्थाको उछित्तो काटे।
एक छिनपछि सचिवज्यूको कार्यकक्षबाट एक जना निस्केर बोलाए “दर्ता नं. एक हजार त्रिचालीसका भन्सारमा सरुवा चाहने रौतहटका खदारसाप हुनुहुन्छ ?”
हातमा फाइल बोकेका एक जना युवक जुरुक्क उठेर भित्र लागे । घन्टौंदेखि बाहिर कुरिरहेका अरू आगन्तुकहरू ट्वाँ परेर हेरिरहेका थिए । एक छिन अघिसम्म देशमा भएको अव्यवस्थाको मच्चीमच्ची बद्ख्वाँई गर्नेमध्येका थिए उनी ।
दुर्गाप्रसाद ग्वाल्टारेको बोधिचित्तको खेती भन्ने पुस्तकको उछितो भन्ने शीर्षको लघुकथाबाट साभार ।
No comments:
Post a Comment