काजीको चिन्ता
“बाईस वर्ष भयो यो खाल्डोमा छिरेको । सुब्बाभन्दा माथि जान सकिएन । बल्लतल्ल एउटा घडेरी किनियो, घर बनाउन सकिएन । केटाकेटी जसोतसो बोर्डिङमा त हालियो, तर खै ! यस्तो नाथेलाई के बोर्डिङ भन्नु !.. फेरि श्रीमतीलाई पनि गतिलो जागिर लगाउन सकिएन । नाथे सहकारीको क्लर्क ! जति दिन्छन, त्यति हात थाप्नुपर्ने ।”....चिन्तामा चुर्लुम्मै थिए काजी आज, उदास र बेचैन ।शनिबार । अकस्मात् ढोकाको ढकढक आवाजले झस्किए काजीका दम्पती । काजीका पुराना, कलेजका साथी नारन सोद्धै खोज्दै आइपुगेका रहेछन् उनीहरूको डेरामा । दुवै साथीसाथीका लामा भलाकुसारी चले । खानपान र गफगाफपछि नारन विदावारी भए । एकछिन अघिसम्म चिन्तामा डुबेका काजी हँसिला खुसिला र चङ्गा देखिंदा उनकी श्रीमती खुसी र चकित दुवै थिइन् ।
बूढाबूढीको कुरा हुँदै गएपछि श्रीमतीले थाहा पाइन कि उही समयमा बि.ए. पास गरेका नारन अझै पनि खर्दारमै झुन्डिरहेका रहेछन् । यत्तिका वर्ष बितिसक्दा पनि राजधानीमा सरुवा हुने धोको पूरा भएको रहेनछ उनको । केटाकेटीहरू सरकारी स्कुलमा पढ्दा रहेछन् । शहरमा घडेरी किन्न त परै जाओस् अंशमा पाएको एक टुक्रा बारी पनि श्रीमतीको औषधोपचारमा बिक्री गर्नुपरेछ ।
##ShortstoryofDurgaprasadGwaltare## I liked it. Thanks Story writer.
No comments:
Post a Comment