लकडाउनमा शिक्षकहरू के गर्दैछन् ?
सम्पूर्ण शिक्षकहरु होम क्वारेन्टाइनमा रहनु भएको बेला समय व्यवस्थापन तथा सदुपयोग के कसरी गरिरहेका छन् भनेर जिज्ञासा उत्पन्न भयो । शिक्षकहरुलाई म्यासेन्जर तथा फोनबाट सम्पर्क गरे । केहीले जवाफ दिए । केहीले दिएनन् । शिक्षकहरुको जवाफ हुबहु यहाँ प्रस्तुत गरेको छुः
प्रविधिमैत्री शिक्षक समाज, नेपालद्वारा आयोजित जुम कन्फरेन्समार्फत अनलाइन प्रशिक्षक प्रशिक्षणमा सहभागी भई लाभान्वित हुने अवसर प्राप्त गरिरहेकी छु । सिकाइलाई समय सापेक्ष र प्रविधिमय बनाइ राज्यको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न शिक्षकको सूचना प्रविधिको सिपलाई विकास गर्ने यस संस्थाको मुख्य ध्येय रहेको छ । आफ्नो पेशा र वृत्तिसँग सम्बन्धित कोर्स तथा अध्ययनलाई निरन्तरता दिएकी छु । बाँकी समय परिवारका बालबालिकाका लागि दिनुका अलावा पुस्तक अध्ययन, विभिन्न खेल, करेसाबारी र फूलबारीको काममा समय बित्छ । हौसला बढाउन सकरात्मक सूचना सम्प्रेषण गर्न सामाजिक सन्जालको प्रयोग गरेकी छु ।
लकडाउनको सुरुका दुई दिन वार्षिक परीक्षाका उत्तरपुस्तिका परीक्षण गरियो । त्यसपछि एकान्तबासलाई विस्तारै अभ्यस्त बनाउन थालेको छु । छोराका लागि मिडास इक्लासको एप्स डाउनलोड गरेर उसलाई केही समय सहजीकरण गरिरहेको छु । मिडास इक्लास एक महिनालाई निःशुल्क छ । दैनिकी परिवारभित्र नै सीमित छ । छोरा र परिवारमा नै मोबाइलमा बाघचाल तथा चेस खेलमा दिनको केही समय बित्ने गरेको छ । बाँकी समय साहित्यिक पुस्तक अध्ययन, युट्युबमा उपलव्ध फिल्म परिवारका साथमा हेरेर, अनलाइन खबर, मोबाइलमा डाउन लोड गरिएको शिक्षक मासिक एप्सबाट लेखहरु, अनलाइनमा उपलव्ध लेखहरु, ईपुस्तकालयमा उपलब्ध पुस्तकहरु र टिभीमा समाचार हेरेर नै समय बित्ने गरेको छ ।
अवस्था गम्भीर हुँदाहुँदै पनि आफू बाँचौ र अरुलाई बचाऔँ भन्ने कार्यलाई मूर्तरुप दिँदै नयाँ शैक्षिक योजना निर्माण गरेको छु । अभिभावकलाई आफ्ना नानीबाबुको सुरक्षा गर्न घर बाहिर जान नदिन र संयम अपनाउन आग्रह गरिएको छ । अन्तिम नतिजा प्रकासनको चरण भएकोले त्यसको आन्तरिक तयारी घरमा बसेर गरिँदै छ । किताब पढ्ने, गुगल सर्च गरी नयाँ जानकारी लिँदै दिनचर्या बित्दैछ । साबुन पानीले हात धुन लगाउने, सफा बस्ने, घर आँगन सफा राख्ने, सफा खाना खाने, लेखपढ् गर्न लगाउने, न आत्तिने, बाहिर ननिस्कने, आवश्यक परेर निस्किनु परेमा मास्क लगाउने, आफू सुरक्षित हुने, सुरक्षित हुन लगाउने आदिका बारेमा जानकारी गराउने गरेको छु ।
नियमित दैनिक कामका अलावा दैनिक योगा गर्ने गरेकी छु । विभिन्न पुस्तकहरु सङ्कलन गरी अध्ययन गरिरहेकी छु । एलएलबीको परीक्षाका लागि तयारी गरिरहेकी छु । अडियो सुन्ने, नोट लेख्ने गरेकी छु । समसामयिक विषयमा सामाजिक सञ्जालबाट अपडेट लिने गरेकी छु । विद्यार्थीलाई अनुशासनमा रहन सुझाव दिने गरेकी छु । अभिभावकलाई आफ्नो विद्यार्थीले मोबाइल र टिभीको दुरुपयोग तथा सदुपयोग के गरिरहेका छन् भन्नेबारेमा पनि निरीक्षण गरिरहेको छु । बच्चाहरूलाई अभिभावकप्रति, समाजप्रति र राष्ट्रप्रतिको जिम्मेवारीका बारेमा सुझाउने गरेकी छु । करिअर गाईडेन्सको प्रशिक्षकसमेत भई काम गरेकी हुनाले विद्यार्थीहरुलाई सो विषयमा फोन र मेसेन्जरबाट परामर्शसमेत दिने गरेकी छु
चैत्र ५ गतेबाट विद्यालय बन्द भए पनि चैत ७ गतेदेखि बिदा दिइयो । चैत्र ११ गतेबाट लकडाउन भएपछि बिहान ५ बजेअघि उठ्ने कार्यतालिका परिवर्तन भएको छ । पढ्ने र लेख्ने काममा गति आएका छन् । साहित्य र दर्शन अध्ययन गर्दैछु । साहित्यमा कथा कविता लेखिरहेको छु । धर्म संस्कृतमा महाभारतका केही पात्रहरुको अध्ययन गर्दैछु । विद्यालयका अभिभावकलाई आवश्यकताअनुसार फोन सम्पर्क गरी विद्यार्थीबारे जानकारी लिने गरेको छु ।
यो लकडाउनको समयलाई भरपुर उपयोग गर्दै हामी देशभरका प्रविधिमैत्री शिक्षक समाजमा आवद्ध शिक्षकहरुले अनलाईनमार्फत शिक्षकका लागि शिक्षण सिकाइको लागि आवश्यक पर्ने कम्प्युटर तथा इन्टरनेटसम्बन्धी तालिम सञ्चालन गर्न व्यस्त छौँ । विषयगतरुपमा कुन कुन विषयलाई कसरी प्रभावकारीरुपमा शिक्षण गर्न सकिन्छ र आधुनिक प्रविधिको प्रयोग कक्षाकोठामा कसरी गरेर प्रभावकारीरुपमा शिक्षण गर्न सकिन्छ भन्ने कुराको खोजी एवं शिक्षणमा प्रयोग गर्न सकिने विभिन्न सफ्टवेयरको प्रयोग नै तालिमका मुख्य विषवस्तु रहेका छन् ।
विभिन्न पेशाकर्मी, सुरक्षाकर्मी, स्वास्थकर्मी, कर्मचारी, शिक्षक लगायत सबैको महत्वपूर्ण जिम्मेवारी रहनुपर्छ । यद्यपि शिक्षण पेशामा आवद्व व्यक्तिले अपेक्षाकृतरुपमा कम प्रभावकारी भूमिका निर्वाह गरेको महसुस भएको छ । तर पनि परिवार र समाजमा सकारात्मक सन्देशहरु अनुभूत गराउन हाम्रो भूमिकाले केही मात्रामा योगदान पुर्याएकै छ । अध्ययन, दैनिक क्रियाकलापका अलावा साहित्य सिर्जना एवम् अन्य रचनात्मक कार्यहरु समय व्यवस्थापनका महत्वपूर्ण पक्षको रुपमा सावित भएका छन् ।
मैले दैनिक नियमित व्यक्तिगत काम, शारीरिक कसरत र अध्ययनलाई जोड दिएको छु । श्रीमद्भागवत गीताको १८ अध्याय लकडाउनको समयमा पढेर सके । पढ्ने क्रममा संस्कृत श्लोक उच्चारणमा पूर्णतया गाह्रो भयो । सामाजिक सञ्जालमा अलिक बढी नै अभ्यस्त भइएको छ । सुताइ अलिक बढेको छ । फेसबुकको माध्यमबाट चेतनामूलक ‘स्टाटस’ लेख्ने र ‘शेयर’ गर्ने गरेको छु । हिरालाल सुवेदीले लेख्नुभएको अङ्ग्रेजी व्याकरणको पुस्तकलाई पुनः अध्ययन गरिरहेको छु ।
सुरुमा कसरी बाँच्ने अनि बचाउने भनेर चिन्ता लाग्दो रहेछ । परिवार तथा साथीहरुसँग छलफल र सुझावमा समय दिएको छु । घरमा हुँदा पनि विद्यार्थीको चिन्ता लाग्दो रहेछ । म काठमाडौँको ग्रामीण भेगमा रहेको हुँदा इन्टरनेटको पहुँचमा कम हुन्छु । सकभर हरेक माध्यमबाट विद्यार्थीसँग जोडिने कोसिस गर्दैछु । विशेष त एसईई दिने विद्यार्थीहरुको चिन्ता बढी लाग्छ । यो लकडाउनमा घरमै बसेर पढ्न अनुरोध गर्ने गरेको छु । विद्यालय जाने वातावरण नभएकोले योजना निर्माणमा मानसिक योजनाबाहेक केही गर्न सकेको छैन । बाँकी समय अध्ययनमा बिताउँछु ।
आफू बचौँ र अरुलाई पनि बचाऔँ भन्ने अभियानलाई आत्मसात गर्दैछु । यो जटिल समयमा सकारात्मक सोचका साथ विविध किसिमका नवीनतम लेख रचना पढ्ने, शेयर गर्ने र त्यस्ता लेख रचनालाई अनुकरण गर्न खोजिरहेकी छु । विभिन्न किसिमका ज्ञानवर्द्धक, सूचनामूलक, समय सापेक्ष, सन्देशमूलक, उपयोगी पुस्तकहरु खोजी गर्दै पढिरहेकी छु । सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ज्ञानको कमी भएकोले स्वयम् शिक्षामा कसरी सूचना र प्रविधिको विकास गर्न सकिन्छ भनी खोज गर्दै सिक्ने कोशिस गर्दैछु । आफ्नो विषयसँग सम्बन्धित नवीन विषयवस्तु खोजिरहेकी छु । सहज र सरल प्रस्तुतीकरणको विविध शैली र तरिकाको खोजी गरिरहेकीछु ।
पटक्कै हडबडाउने समय होइन । सिर्जनशील रही आत्मविश्वास कायम गरेर व्यक्तिगत सरसफाइमा ध्यान दिई शारीरिक तन्दुरुस्ती राख्दै आएको छु । शिक्षक एक सामाजिक अभियन्ता भएकोले कोरोनासम्बन्धी सचेतना बढाउने कार्यमा पनि संलग्न छु । यसअघि आफ्नो कार्य व्यस्तताले गर्दा परिवार, इष्टमित्र, साथीभाइसँग भेटघाट, कुराकानी हुन नसकेको अवस्थामा फोन र सामाजिक सञ्जालमार्फत सम्बन्ध अझ सुमधुर बनाउन सकिन्छ । आफूलाई वर्तमान परिवेशअनुसार अद्यावधि राख्नुपर्छ । विगतको शैक्षिक सत्रमा हासिल हुन नसकेका शैक्षिक उपलब्धिलाई हासिल गराउन योजना बनाएको छु । शिक्षासम्बन्धी फिल्म र डकुमेन्ट्री हेर्न, विभिन्न पत्रपत्रिका, पुस्तक पढ्न पनि समय खर्चिएको छु ।
कतिपय शिक्षक नयाँ शैक्षिक सत्रका लागि योजना बनाउने कार्यमा व्यस्त हुनुहुन्छ । कतिपय उत्तरपुस्तिका परीक्षणमा । गीत, गजल, मुक्तक, हाइकु जस्ता लेख रचना लेखेर समय व्यवस्थापन गर्दै आएकी छु । त्यसैगरी मेरो सानो बाबु सानो भएको हुँदा उसको हेरचाहमा धेरै समय बिताइरहेकी छु । उसलाई नाच्न, बोल्न, गाउन अनि मौखिकरुपमा क, ख, ग, ए, बी, सी पनि सिकाइरहेकी छु । एसईई दिने विद्यार्थीको एउटा समूह बनाएर आफूले पढाउने विषयमा छलफल गराउने, अभ्यास गराउने र उनीहरूका समस्या समाधान गर्ने काममा पनि व्यस्त छु । आउने वर्ष कक्षा ११ को पाठ्यक्रम परिवर्तन हुने क्रममा छ । आफूले पढाउने विषयको अध्ययन गरेकीछु । लकडाउन अझै लम्बिएमा केही शैक्षिक सामग्री बनाउने सोचमा छु ।
शिक्षक एक योजनाकार हो । शिक्षक सधैं विषयवस्तुमा अध्यावधिक हुनुपर्छ । शैक्षिक सत्र २०७७ बाट नयाँ पाठ्यक्रम लागु हुँदैछ त्यसकारण यस अवधिभर नयाँ पाठ्यक्रमको ढाँचा अध्ययन गरिहेकी छु । उपयोगी पुस्तकहरू तथा सन्दर्भ सामग्रीको अध्ययन गरेर समय व्यथित गरेकी छु । आजको युग सूचना तथा प्रविधिको युग हो, शिक्षक प्रविधिमा दक्ष हुनुपर्छ । भर्चुअल तालिममा सहभागी भई प्रविधिसम्बन्धी विभिन्न सीप तथा वेवपेज निर्माण गर्ने, ब्लग, यूट्यूब तथा गुगलका बारेमा तालिम लिइरहेकी छु । माध्यमिक तहको विज्ञान शिक्षक भएकोले एसईई विज्ञानको अभ्यास पुस्तक तथा म्यानुअल लेख्दै आफूलाई रचनात्मक कार्यमा समावेश गराइरहेकी छु ।
https://edupatra.com/news/what-are-the-teachers-doing-in-lockdown/?fbclid=IwAR2cRAiSuJSdZEMOvACo50M9vFFC9xveLq5i6SE1_h5R1K9H9LX4jO3uJU4
No comments:
Post a Comment