Translate

Monday, April 27, 2020

‘गाउँबस्ती ध्वस्त हुने लक्षण देखिएको छ’ CORONA MAY DESTRUCT THE VILLAGES IN NEPAL

‘गाउँबस्ती ध्वस्त हुने लक्षण देखिएको छ’


  •  लक्ष्मण श्रेष्ठ
  • प्रकाशित मिति : सोम, चैत्र २४, २०७६
  • 859
    SHARES
    More

विश्वमा विभिन्न प्रकारका माहामारीले मानव सभ्यतालाई संकटमा पारेको इतिहास छ । विभिन्न भाइरस तथा ब्याक्टेरियाले आक्रमण गरी मानव जातिलाई तहसनहस बनाएको पाइन्छ । सन् १३४७ देखि १३५२ सम्म एउटा माहामारीले युरोपमा लगभग २५ देखि ३० मिलिएन अर्थात् तीन करोड मानिसलाई मारेको थियो । यो महामारीलाई ‘ब्ल्याक डेथ’ भनिन्छ ।
उपियाँको दुई हजार पाँच सय प्रजातिमध्ये एक प्रकारको प्रजातिबाट सरेको यो रोगले त्यस समयमा ठूलो आर्थिक, मानसिक, सामाजिक र मानवीय क्षति गरायो । हाड जोर्नी दुःख्ने, ज्वरो आउने, घाँटीको भाग र छाला कालो भई मृत्यु हुने भएकोले यसलाई ‘ब्ल्याक डेथ’ भनिएको थियो । यो रोगबाट संक्रमितमध्ये दुई तिहाइको मृत्यु भएको थियो ।
यो मध्य एसियाबाट सुरु भई मंगोल लडाकु तथा व्यापारीको माध्यमबाट क्रिमियामा पुगेको थियो । यसमा बैसिलस ब्याक्टेरियाको प्रवाह तीव्र गतिमा भई मानिसको मृत्यु भएको थियो । खैरो ररूको मुसा वर्गको लोखर्केमा भएको उपियाँबाट मानिसमा आई सो उपियाँमा भएको ब्याक्टेरियाका कारण त्यतिका मानिसको ज्यान लियो ।
‘ब्ल्याक सी’ मा चल्ने पानीजहाज हुँदै यो माहामारी इटालीबाट युरोपमा फैलियो । यो रोग मुसाबाट जहाजको माध्यमबाट इटाली प्रवेश गरेको थियो । यो रोग लागेको क्षेत्रका देशहरूमा ५० प्रतिशतसम्म जनसंख्या मृत्युका कारण घटेको थियो । मध्ययुगीन युरोपको उक्त समयमा ठूलो समस्या आएको थियो ।
यो माहामारीले राज्य तथा विद्रोहीबीच पनि ठूलो प्रश्न चिन्ह खडा गरिदिएको थियो । ठूला ठूला सहर तथा गाउँ परित्यक्त भएका थिए । सन् १३४७ देखि १३५२ सम्मको पाँच वर्षमा युरोप महादेशमा यस माहामारीका कारण जति मानिस मरे त्यति नै जनसंख्या पुग्न युरोप महादेशमा दुई सय वर्ष लाग्यो । मृत्युका कारण काम गर्ने मानिसहरू पाइएनन् । उत्पादन ठप्प भयो । खानेकुराको अभाव भयो । सबैतिर सन्त्रास फैलियो । यसले मानव सभ्यतामा नराम्रो असर पार्यो ।

सन्दर्भ वर्तमानको कहरः कोरोना पनि लेखाजोखा हुनै बाँकी

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा एक जना व्यक्तिमा भएको कोरोना भाइरसको संक्रमण अहिले संसारभर फैलिएको छ । आजसम्म मर्नेको सङ्ख्या झण्डै साढे ६० हजार पुग्न लागिसकेको छ । अहिलेसम्म गरिएका प्रायः सबै खोज र अनुसन्धान प्रभावकारी देखिएको छैन ।
हरेक दिन फलानो देशका वैज्ञानिकले कोरोना भाइरसलाई मार्ने औषधि पत्ता लगाए भन्ने सनसनीपूर्ण समाचार आउँछन् तर ती वास्तविकताभन्दा टाढा छन् । उपचार र स्वास्थ्य सुविधाको पक्ष कमजोर र निरीह छ ।
नेपालको सन्दर्भमा हालसम्मको अवस्था ठिकै भए पनि भविष्यमा इटाली जस्तो नहोला भन्न सकिन्न । भाइरसको संक्रमण अन्य देशबाट आएका व्यत्तिमा मात्र नभई उनीहरूको माध्यमबाट अन्य कति जनामा सरिसकेको छ ? लेखाजोखा हुनै बाँकी छ । हामी अझै गम्भीर भएका छैनौँ । यसलाई मजाकका रूपमा लिएका छौँ ।

गाउँबस्ती ध्वस्त हुने लक्षण देखिएको छ

गाउँगाउँ जाने, डाँडाकाँडा डुल्ने गरेको देखिएको छ । समूहमा लकडाउन सफल पारौँ भन्दै व्यंग्य गर्दै थुप्रै व्यक्तिसँगै उभिएर सेल्फी खिचेको फोटो सामाजिक सञ्जालमा पर्याप्त देख्न पाइन्छ । भेला, बैठक बाक्लिएको महशुस गरिएको छ । कुखुरा, खसी, बोका, राँगा भैँसी काटेर भोज गर्ने क्रम गाँउघरमा रोकिएको छैन । दशैँ र तिहार एकैपटक आएजस्तो गरिएको छ । यसले एकान्त बासभन्दा पनि सामूहिकतातर्फ गएको भान भएको छ ।
गाउँबस्ती ध्वस्त हुने लक्षण देखिएको छ । एक्लै बस्न नसकेर वल्लाघर पल्लाघर, तल्लाघर माथ्लो घर गरेर लखरलखर हिँडिरहेका छौँ । यस्तै अवस्था कायम रहिरहने हो भने केही दिनमा भयावह परिस्थिति आउन सक्छ । यस्तो अवस्था गाउँबाटै सुरु हुने शंका उब्जाएको छ । भावनामा बगिरहेका छौँ । सबैलाई छक्याइरहेका छौँ तर काललाई निम्तो दिइरहेका छौँ ।
सरकारले दक्षिणको सबै नाकामा क्वारेन्टाइन बनाएको छ । क्वारेन्टाइनमा बस्नु नै उत्तम उपाय हो । त्यहाँबाट भाग्न पाउनपर्छ, घर जान पाउनुपर्छ भन्ने सोचमा हामी छौँ । सबै आफ्नै देशमा बस्न पाउन पर्छ तर अहिले संसारभर रहेका नेपालीलाई स्वदेशमा फर्काउन सम्भव छैन । जो जहाँ छ त्यहाँ सुरक्षित बस्ने हो । जहाँ छौँ त्यहाँ बसेर सिर्जनशील काम गर्नुपर्दछ । घरभित्रै रमाउन सिक्नुपर्दछ ।
अहिले अमेरिका संसारमा सबैभन्दा बढी कोरोना संक्रमित व्यत्ति भएको देश बनेको छ । इटालीमा लास उठाउन सकिएको छैन । आफ्नै परिवारका सदस्यहरूको मृत शरीर हेरेर बस्नुको उपाय छैन ।
यो समय ‘ब्ल्याक डेथ’को जस्तो होइन । यसको संक्रमण दिन दुई गुणा रात चौगुणाको दरले बढेको छ । संक्रमण बढेमा नियन्त्रण गर्न हाम्रो सामर्थ्य छैन । यसलाई नियन्त्रण गर्न सकियो भने बाँच्न पाउनेछौँ भन्ने हामी सबैले बुझ्न सक्नुपर्दछ ।

(लेखक कागेश्वरी मनोहरास्थित बालविकास माध्यमिक विद्यालयका माध्यमिक शिक्षक हुन् ।)

No comments:

Post a Comment

Essays